माधब पौडेल, कञ्चनपुर, २७ कार्तिक । कञ्चनपुरको बेलौरीस्थित सामुदायिक अस्पताल ईशान मेमोरियल अस्पतालले इसानजंग कुँवरको सातौँ स्मृति दिवसको अवसरमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली माध्यमिक विद्यालयको समाहित कार्यक्रमअन्तर्गत संचालित बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत १४ जना छात्रछात्रालाई बिहीबार न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा ईशान मेमोरियल अस्पतालका संरक्षक काशी सिंह कुँवरले ६ वर्षअघि एम्बुलेन्स दुर्घटनामा परेर ज्यान गुमाएका आफ्ना नाति ईशानको सातौँ स्मृति दिवसमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई जाडोमा लगाइने ट्रयाक सुट, जुत्ता, मोजा, टोपी लगायत सामग्री वितरण गरिएको बताउनु भयो । बेलौरी नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले ईशान मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गतका काम गर्दै आइरहेको बताउँदै बौद्धिक अपाङ्गता श्रोत कक्षा अध्ययनरत विद्यार्थीहरुलाई सहुलियतमा उपचारको व्यवस्था गरिदिन अस्पताल व्यवस्थापनलाई आग्रह गर्नुभयो ।
महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश सिंह भण्डारीले विद्यालयको तर्फबाट मृतक ईशानजंग कुँवर प्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयमा पुगी चिसोको समयमा न्यानो कपडा वितरण गरेकोमा ईशान मेमोरियल अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले गर्नु भएको थियोे । सो कार्यक्रममा इशान मेमोरियल अस्पतालका प्रबन्धक पूजा भट्ट, अस्पतालका एचआर डीपार्टमेन्ट प्रमुख मदन सिंह भण्डारी, अस्पतालमा कार्यरत डा. दिगम्बर यादव, कलाकार पूजा अधिकारी, सञ्चारकर्मीहरू, शिक्षिका मैयाँ रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस