कञ्चनपुर,२१ कार्तिक। शान्ति पुनर्स्थापना गृह (पीआरसी) शाखा कार्यालय कञ्चनपुरले आफ्नो वार्षिक सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित चेतन होटलमा आयोजित कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१/०८२ मा संचालन गरेको कार्यक्रमहरुको वार्षिक प्रगति विवरण तथा सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो ।कार्यक्रमको स्वागत मन्तव्य शान्ति पुनर्स्थापना गृहका क्षेत्रिय प्रमुख सञ्जित सिंहले राख्नुभएको थियो।
कञ्चनपुरबाट संस्थाले मानव बेचबिखन तथा ओसारपसारको जोखिमपूर्ण यात्रामा रहेका २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्धार गरी पारिवारीक पुर्नमिलन गराएको संस्थाका महेन्द्रनगर शाखाका सुपरभाईजर अन्जु चौधरीले जानकारी दिनुभयो।संस्थाको रोहबरमा ८ जनालाई महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्धमा र जबरजस्ती करणीको मुद्धा दर्ता गराएको जानकारी दिनुभयो।
कार्यक्रममा संस्थालाई सहयोग र साझेदारी गर्ने भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ र २ कार्यालय र भीमदत्त नगरपालिका वडा नम्बर ८ लाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखक जोशीले शान्ति पुनर्स्थापना केन्द्रले समुदायमा गरेको योगदान प्रशंसनीय रहेको बताउँदै केन्द्रले लैङ्गिक हिंसा नियन्त्रण, पारिवारिक विवाद समाधान र महिला सशक्तीकरणमा देखाएको सक्रियताले समुदायमा शान्ति, सद्भाव र आपसी विश्वास मजबुत बनाउन मद्दत गरेको उल्लेख गर्दै नगरपालिकाले पनि यस्ता सकारात्मक प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले मानव बेचबिखन रोक्न थप जनचेतनाको आवश्यकत भएकाले यसको प्रचार प्रसारमा जोड दिनुपर्ने सुझाव दिनुभयो। संस्थासँग सहकार्यका लागि बेलौरी नगरपालिका तत्पर रहेको समेत बताउनुभयो।
बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष हरिश्चन्द्र रानाले शान्ति पुनर्स्थापना केन्द्रले पारिवारिक विवाद समाधान, लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा देखाएको सक्रियताले गाउँपालिकाको समग्र सामाजिक विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले शान्ति पुनर्स्थापना गृहले समुदायमा शान्ति, सुरक्षा र सहकार्य कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै संस्थाले हिंसा न्यूनीकरण, विवाद समाधान र सामाजिक सचेतना अभिवृद्धिमा गरेको सक्रियता प्रशंसनीय भएको उल्लेख गर्दै प्रहरी र गृहबीचको सहकार्य रहने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गाप्रसाद बोहराले मानव बेचबिखनमा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।खासगरि सीमानासंग जोडिएका पालिकाका पदाधिकारीहरुलाई गम्भिर रुपमा मानव बेचबिखनविरुद्ध काम गर्न समेत आग्रह गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष संस्थापक अध्यक्ष शान्ता सापकोटाले उद्धारको कार्य गर्दा आफुले ठुलो चुनौतीको सामना गर्दै आएको जनाउदै यसमा काम गर्ने बहिनीहरुलाई ढुक्कका साथ काम गर्न आग्रह गर्दै नेपाली चेलीहरुलाई बेचविखनबाट जोगाउन सके यही पुन्य हुने जनाउनुभयो ।सीमानाकासंग जोडिएको समस्या रहेकाले विभिन्न गैरसरकारी संघ संस्थाहरुको समन्वय र पालिकाहरुलाई जिम्मेवारी प्रदान गरी निगरानी र सचेतनामूलक अभियान गर्नुपर्नेमा जोडदिनुभयो ।
शान्ति पुनर्स्थापना गृहले कञ्चनपुर जिल्लामा वि.सं. २०७६ साल देखी आफ्नो शाखा कार्यालय स्थापना गरी कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव, दोधारा चाँदनी, बेलौरी र बेलडाँड़ी सिमा क्षेत्रमा सम्पर्क कार्यालय र सुचना तथा परामर्श सेवा केन्द्र सञ्चालन गरी विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय र सहकार्य गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सुचना तथा परामर्श सेवा प्रदान संगै उद्धार कार्य गर्दै आईरहेको छ। शान्ति पुनर्स्थापना गृहले विगतको वर्षहरु जस्तै यस वर्ष पनि आ.व. २०८१/०८२ को सामाजिक लेखा परिक्षण र प्रगती विवरण प्रस्तुत कार्यक्रम गरेको हो । कार्यक्रममा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधी, पालिकाका महिला विकास शाखा प्रतिनिधी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार लगायतको सहभागिता रहेका थियो । कार्यक्रमको सहजीकरण संस्थाको सुपरभाइजर मनिषा न्यौपाने र परामर्शदाता नितु विष्टले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस