बेलौरी, १७ कार्तिक।कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर ५, ७ र ९ मा करिब एक महिनादेखि निरन्तर जंगली हात्तीको आतंक मच्चाइरहेका बेला सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ।

मन्त्री थापाले बेलौरी नगरपालिकाका वडा नं ५ र ७ का विभिन्न स्थानहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्नुभएको हो। अनुगमनका क्रममा उहाँले हात्ती आक्रमणबाट भएको जनधनको क्षति, कृषि नोक्सानीको जानकारी लिनुभयो। करिब १५ दिन अगाडि पुष्पलाल सामुदायिक वन क्षेत्रभित्र हात्तीको आक्रमणमा परी वडा नं ३ बुटावरीका ६५ वर्षिय श्रीप्रसाद आचार्यको मृत्यु भएको थियो। सो घटनापछि मन्त्री थापा पीडित परिवारसँग भेटघाट गरी आवश्यक राहतका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो।
अनुगमन टोलीमा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भरत प्रसाद श्रेष्ठ, कुन्डा सब–डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादव, बेलौरी वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरी, बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखाका फोकल पर्सन अशोक पाण्डेय, नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरका सचिव पल्लवराज भट्ट, नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, सामुदायिक वन उपभोक्ता समितीका पदाधिकारी, भलमन्सा लगायत स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडाध्यक्ष चौधरीले मन्त्रीसमक्ष हात्ती नियन्त्रणका लागि इलेक्ट्रोनिक वायर (विद्युत तारबार) तत्काल उपलब्ध गराउन आग्रह गर्दै राति हात्ती गाउँमै प्रवेश गर्छ, बस्ती र खेतबारीमा विनाश मच्चाएको बताउँदै किसानले उत्पादन गरेको धानको उचित मूल्य पाउन सकेनन्, त्यसैले सरकारले तोकेको मूल्यमै धान खरिद गर्ने व्यवस्था गर्न समेत मन्त्री थापाको ध्यानाकर्षण गराउनुभयो।स्थानीयवासीहरूले पनि रातिको समयमा हात्ती धपाउनका लागि प्रयोग हुने ट्यांकर सञ्चालनका लागि इन्धन आपूर्ति तुरुन्त सुनिश्चित गर्न माग गरेका छन्।
कुन्डा सब–डिभिजन वन कार्यालयका प्रमुख यादवले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै हात्तीको आवतजावत हुने मार्गलाई पहिचान गरी (विद्युत तारबार) लगाउन सके आगामी दिनमा जंगली जनावरको समस्याबाट बच्न सकिने बताउनुभयो।उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भरत प्रसाद श्रेष्ठले भने हात्ती नियन्त्रणसँगै वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न मन्त्रालय गम्भीर रहेको बताउँदै
हात्तीको आवास क्षेत्र घट्दै गएकोले मानव–जनावर द्वन्द्व बढेको बताउनुभयो। हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई डिभिजन कार्यालय मार्फत क्षतिपूर्ति उपलब्ध गराइने समेत बताउनुभयो।अनुगमनपछि मन्त्री थापाले राज्यको प्राथमिकता हात्ती नियन्त्रण, किसानको क्षतिपूर्ति र स्थानीय सुरक्षामा केन्द्रित हुने बताउनुभयो मन्त्री थापाले सम्बन्धित वडा कार्यालयले क्षति एकिन गरी पठाउन समेत आग्रह गर्नुभयो।प्रदेश सरकारले आवश्यक नीति, बजेट पहलका लागि यस आर्थिक वर्षमा विनियोजितले पुरै काम गर्न नसकिने बताउँदै आगमी आर्थिक वर्ष बजेट थप गरिने बताउनुभयो।किसानले उत्पादन गरेको धानको उचित मूल्य पाउन सकेन भन्ने प्रश्नमा मन्त्री थापाले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न ३/४ दिन भित्र पुनर्वासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत किसानहरूको धान खरिद गरिने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस